न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बिहारस्थित जमुईमा मड़वा पहाडबाट फर्किरहेका नाबालिग छात्र–छात्रालाई बाटोमा रोकेर कुटपिट तथा छात्रामाथि कथित छेडछाड गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटना सेप्टेम्बर १९ अर्थात् शनिबार साँझ जमुई–लखीसराय सडकखण्ड नजिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जमुईका दुई जना कक्षा १० का छात्र–छात्रा कोचिङ सकेर स्कुटीमा मड़वा पहाडतर्फ गएका थिए । फर्किने क्रममा केही युवाले उनीहरूलाई बाटोमै रोकेर दुर्व्यवहार गरेको आरोप छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको भिडियोमा युवाहरूको समूहले छात्रलाई नियन्त्रणमा लिई कुटपिट गरेको र छात्रामाथि अभद्र व्यवहार गरेको देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनाको भिडियो समूहकै एक सदस्यले खिचेको बताइएको छ ।
भिडियोमा छात्राले आफूहरूलाई छाडिदिन आग्रह गरिरहेको देखिन्छ । उनीहरूले आफूहरू फेरि त्यहाँ नआउने भन्दै छाडिदिन आग्रह गरेको विवरणसमेत सार्वजनिक भएको छ । घटनाका क्रममा छात्र–छात्राले त्यहाँबाट भाग्ने प्रयास गरे पनि समूहले पछ्याएको बताइएको छ ।
भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि जमुई प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । प्रहरीले भिडियोमा देखिएको सवारी साधनको नम्बरको आधारमा पीडित छात्र–छात्रासम्म पुगेर बयान लिएको जनाएको छ ।
जमुईका प्रहरी उपरीक्षक विश्वजीत दयालका अनुसार घटनामा करिब सात जनाको पहिचान गरिएको छ । तीमध्ये तीन जनालाई पक्राउ गरिएको छ भने अन्यको खोजी भइरहेको छ । घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोलीसमेत गठन गरिएको छ ।
पक्राउ पर्नेमा मड़वा गाउँका मिथिलेश कुमार, प्रमोद कुमार र गोलू कुमार रहेको प्रहरीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूको उमेर करिब २४ देखि २६ वर्षबीच रहेको छ ।
घटनामा नाबालिग पीडित भएकाले प्रहरीले उनीहरूको पहिचान र अन्य संवेदनशील विवरण सार्वजनिक नगरेको जनाएको छ । घटनामा बालबालिका संरक्षणसम्बन्धी कानुन पोक्सो तथा भारतीय न्याय संहिताका सम्बन्धित प्रावधानअन्तर्गत मुद्दा दर्ता गरिएको विवरण पनि सार्वजनिक भएको छ ।
घटनापछि बिहार महिला आयोग तथा राष्ट्रिय महिला आयोगले समेत चासो देखाएका छन् । राष्ट्रिय महिला आयोगले बिहार प्रहरीसँग घटनामा भएको कारबाहीबारे प्रतिवेदन मागेको हिन्दुस्तानले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा फैलिएको भिडियो हटाउने प्रक्रिया पनि अघि बढाएको बताइएको छ ।
जमुई प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिका र पहिचानबारे अनुसन्धान जारी राखेको जनाएको छ ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ असोज ६ मंगलबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्



