न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित मदरसाबाट भागेका तीन किशोरी अन्ततः घर फर्किएका छन् ।
जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट भदौ २७ गते शनिबार बिहान भागेका अन्दाजी १५, १६ र १७ वर्षका तीन किशोरीलाई भारत तथा नेपाल प्रहरी र आफन्त नेपाल तथा आफन्त इन्डिया फाउण्डेशनको संयुक्त प्रयासमा उद्धार गरी नेपाल ल्याइएको हो ।
मदरसाबाट भागेर भारतको लुधियाना पुगेका किशोरीहरूलाई उनीहरूकै आफन्त नातामा पर्ने एक व्यक्तिले परिवारबाट प्राप्त सूचनाका आधारमा रेलबाट फेला पारी लुधियानास्थित आफ्नै घरमा राखेका थिए ।
किशोरीहरू लुधियानासम्म पुग्न उनीहरूकै एक आफन्त युवाले सहयोग गरेको जानकारी परिवारले पाएपछि ती युवामाथि दबाब दिइएको थियो । त्यसपछि उनले किशोरीहरू चढेको रेलको नाम, नम्बर र समयबारे जानकारी दिएपछि आफन्त इन्डिया फाउण्डेशन र पञ्जाब प्रहरीको टोलीले लुधियानास्थित आफन्तको घरबाट उनीहरूलाई उद्धार गरेको थियो ।
उद्धारपछि किशोरीहरूलाई भारतको दिल्लीस्थित नेपाली दूतावास पुर्याइएको थियो । आफन्त इन्डियाको सहजीकरणमा परिवारसहित उनीहरूलाई गत सोमबार नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा बयान लिएपछि किशोरीहरूलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
आफन्त नेपालको उपस्थितिमा किशोरीहरूले दिएको प्रारम्भिक बयानमा मदरसामा मोबाइलको विषयलाई लिएर आफूहरूमाथि कुटपिट तथा गालीगलौज भएपछि रिसाएर मदरसा छाडेर गएको बताएका छन् ।
मदरसामा विद्यार्थीलाई मोबाइल राख्न बन्देज भए पनि आफूहरूसँग मोबाइल भेटिएपछि महिला शिक्षकले कुटपिट गरेको र त्यसपछि मदरसामा नपढ्ने भन्दै आफूहरू भागेको उनीहरूको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले किशोरीहरूले दिएको बयान प्रारम्भिक रहेको भन्दै घटनाबारे थप बुझ्ने काम भइरहेको बताए ।
तर, मदरसा पक्षले भने किशोरीहरूले लगाएको कुटपिटको आरोप अस्वीकार गरेको छ ।
मदरसाका सञ्चालक मटिहानी नगरपालिका–१ धिरापुर निवासी गुलाम मुस्तफा अन्सारीले विद्यार्थीहरूले नियमविपरीतका काम गरेपछि शिक्षकले गालीगलौज गर्दै सम्झाउने र अनुशासनमा राख्ने प्रयास गरे पनि कुटपिट वा यातना नदिएको दाबी गरे ।
आफ्नो मदरसामा अध्ययन गर्ने हरेक बालिकालाई आफ्नै सन्तानसरह व्यवहार गर्दै पढाउने गरिएको बताउँदै अन्सारीले विद्यार्थीले गल्ती गरेपछि सम्झाउने र अनुशासनमा राख्ने दायित्व शिक्षकहरूको समेत हुने बताए ।
यता, किशोरीहरू मदरसाबाट भागेपछि स्थानीय प्रशासनले उक्त मदरसालाई अवैध भन्दै बन्द गराएको छ ।
तर, मदरसा पक्षले भने आफूहरूले उक्त संस्थालाई मदरसाका रूपमा नभई ‘कोचिङ सेन्टर’का रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराएको र पानसमेत रहेको दाबी गरेको छ ।
सञ्चालक अन्सारीका अनुसार मदरसा दर्ताका लागि आफूले २०७९ सालमै जलेश्वर नगरपालिकाको शिक्षा शाखामा आवश्यक कागजात बुझाएका थिए । तर, तत्कालीन सरोकारवाला अधिकारीहरूले बदनियतपूर्वक संस्था दर्ता नगरेको उनको आरोप छ ।
कुनै संस्था दर्ता प्रक्रियामा जाँदा कागजात अपुग भए वा सुधार गर्नुपर्ने अवस्था भए सम्बन्धित शाखाले त्यसबारे जानकारी गराउनुपर्ने भए पनि हालसम्म आफूलाई त्यस्तो जानकारी नदिइएको अन्सारीको भनाइ छ ।
उनले आफ्नो संस्थासम्बन्धी कागजात जाँच गरी वास्तविक अवस्था स्पष्ट गरिदिन जलेश्वर नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित सरोकारवाला व्यक्ति तथा निकायसँग आग्रह गरेका छन् ।
घटनामा किशोरीहरूले लगाएको कुटपिटको आरोप र मदरसा पक्षले गरेको अस्वीकारबीच प्रहरीले प्रारम्भिक बयानका आधारमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
भारी वर्षाको सम्भावनाबीच कमला–बलान नदीको स्थलगत निरीक्षण, सिरहाका नदी किनारमा उच्च सतर्कता
- २०८३ असोज ९ शुक्रबार
न्यूज ब्यूरो, सिरहा । जल तथा मौसम विज्ञान विभागले केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका प्रमुख नदीहरूको स्थलगत निरीक्षण गरेको छ । सहायक
पूरा पढ्नुहोस्

