न्यूज ब्यूरो । गाजाको यार्मुक क्षेत्रमा सन् २०२३ मा भएको इजरायली हवाई आक्रमणमा मारिएका १०५ जनाको अवशेष करिब तीन वर्षपछि निकालेर अन्त्येष्टि गर्न लागिएको छ ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार मृतकका परिवार तथा आफन्त सहभागी हुने शवयात्रासहित उनीहरूको अन्त्येष्टि गरिनेछ । अवशेषलाई गाजा सिटीको उत्तरपश्चिममा रहेको शेख रदवान कब्रिस्तानमा गाडिने तयारी गरिएको छ ।
अलजजिराका अनुसार सन् २०२३ अक्टोबर २५ मा यार्मुक स्क्वायर क्षेत्रमा इजरायली सेनाले कम्तीमा २० वटा बम प्रयोग गरी गरेको हवाई आक्रमणमा साततले अल–ताज ३ भवन पूर्णरूपमा ध्वस्त भएको थियो । त्यस क्रममा आसपासका अन्य आवासीय भवनहरूमा समेत क्षति पुगेको थियो ।
आक्रमणमा मारिएका कतिपय व्यक्ति विस्थापित भएर आफन्तको घरमा आश्रय लिएर बसेका परिवारका सदस्य रहेको जनाइएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले इजिप्टको एक समितिसँगको समन्वयमा भग्नावशेषबाट शव तथा मानव अवशेष निकालिएको जनाएको छ । उद्धार टोलीका अनुसार आक्रमणपछि तत्काल भग्नावशेष हटाउन र शव निकाल्न आवश्यक भारी उपकरणसमेत उपलब्ध हुन नसक्दा धेरै शव लामो समयसम्म भग्नावशेषमै पुरिएका थिए ।
मृतकका परिवारले वर्षौंदेखि आफ्ना आफन्तको अवस्थाबारे अनिश्चितता झेल्दै आएका थिए । एक परिवारका सदस्य ओसामा शराफका अनुसार आक्रमणमा उनका परिवारका ३७ सदस्य मारिएका थिए । पछिल्लो खोजीका क्रममा उनका बुबा, आमा र दाजुभाइ–दिदीबहिनीसहित थप १६ जनाको अवशेष फेला परेको छ ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले यसअघि गाजाका भग्नावशेषबाट ठूलो संख्यामा मानव अवशेष फेला पर्नुले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन भएको हुनसक्ने विषयमा गम्भीर प्रश्न उठाएको बताएका थिए । उनका अनुसार गाजामा अझै हजारौँ मानिस भग्नावशेषमुनि हराइरहेको अनुमान छ ।
अलजजिराका अनुसार यार्मुक क्षेत्रमा पछिल्लो समय गरिएको शव खोजी अभियानबाट बरामद १०५ वटा अवशेषमध्ये कतिपय परिवारका धेरै सदस्यसमेत रहेका छन् । लामो समयपछि आफन्तको अवशेष फेला परेपछि परिवारहरू अन्तिम संस्कारमार्फत आफ्ना प्रियजनलाई बिदाइ गर्ने तयारीमा छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्


