फेसबुकमा जनकपुरका पत्रकारको बारेमा आपत्तिजनक पोष्ट हाल्ने मण्डल पक्राउ

२०८३ असोज १३ मंगलबार
बेलुकी ७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकारको अनुमतिबिना भिडियो प्रयोग गरी सामाजिक सञ्जालमा व्यक्तिगत तथा पेशागत प्रतिष्ठामा असर पुग्ने किसिमका सामग्री सार्वजनिक गरेको आरोपमा धनुषामा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–२४ का ३६ वर्षीय दीपक श्रेष्ठ मण्डललाई पक्राउ गरेको हो । उनी सामाजिक सञ्जालमा ‘डीएस मण्डल’ नामबाट सामग्री सार्वजनिक गर्दै आएका थिए ।

प्रहरीका अनुसार मण्डललाई जनकपुरधामस्थित एक होटलबाट पक्राउ गरिएको हो । धनुषाका प्रहरी उपरीक्षक रुपेश श्रेष्ठले मण्डल पक्राउ परेको पुष्टि गर्दै उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा जाहेरी परेपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी ३४ वर्षीया पत्रकारले मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । झाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाहीको माग गर्दै भदौ २४ गते जाहेरी दिएको प्रहरीले जनाएको छ ।

जाहेरीमा मण्डलले सञ्चालन गर्ने फेसबुक अकाउन्टबाट आफ्नो अनुमतिबिना भिडियो प्रयोग गरी व्यक्तिगत तथा पेशागत प्रतिष्ठामा असर पुग्ने, चरित्र हत्या तथा मानहानि हुने किसिमका सामग्री पटकपटक सार्वजनिक गरेको आरोप लगाइएको छ ।

जाहेरीकर्ताका अनुसार सामाजिक सञ्जालमा प्रकाशित सामग्रीमार्फत आफ्नो पत्रकारिताको सत्यता, नैतिकता तथा पेशागत आचरणमाथि प्रश्न उठाउने, व्यंग्य गर्ने तथा सर्वसाधारणमा आफ्नो पेशागत विश्वसनीयताप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास गरिएको थियो ।

जाहेरीमा पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै ‘बिकाउ कलम’, ‘स्वार्थको पहरेदारी’ लगायतका शब्द प्रयोग गरी सामग्री सार्वजनिक गरिएको र ‘जनकपुरधाममा केही बिकाउ कलम फेरि सक्रिय!’ जस्ता शीर्षकमा पोस्ट गरिएको उल्लेख छ ।

त्यस्तै, महिला पत्रकारहरूलाई समेत लक्षित गरी व्यक्तिगत विषयलाई पत्रकारितासँग जोडेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने तथा व्यंग्यात्मक सामग्री सार्वजनिक गरिएको आरोप जाहेरीमा लगाइएको छ ।

जाहेरीकर्ताले आफ्नो भिडियो अनुमतिबिना प्रयोग गरी आरोपात्मक तथा व्यंग्यात्मक सामग्रीसँग जोडेर सार्वजनिक गरिएको दाबी गर्दै फेसबुक पोस्टका स्क्रिनसटलाई प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदनाम गर्ने, आफ्नो बारेमा नकारात्मक धारणा फैलाउने तथा विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गर्ने कार्य भएको दाबी गर्दै कानुनी कारबाहीको माग गरेकी थिइन् ।

जाहेरीमा मण्डलको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत दण्डनीय कसुर भएको दाबी गरिएको छ ।

प्रहरीले जाहेरीपछि सामाजिक सञ्जालमा सार्वजनिक भएका पोस्ट, भिडियो तथा अन्य उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

अदालतबाट पक्राउ पुर्जी लिएपछि मण्डलको खोजी गरिएको र सोही क्रममा उनलाई होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई प्रहरी कार्यालयमा राखेर सामाजिक सञ्जालमार्फत भएका गतिविधि, सार्वजनिक गरिएका सामग्री, भिडियो प्रयोग तथा जाहेरीमा उल्लेख गरिएका आरोपबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मण्डलमाथि लगाइएका आरोपको अन्तिम पुष्टि भने अनुसन्धान तथा सम्बन्धित कानुनी प्रक्रियाबाट हुने प्रहरीले जनाएको छ ।

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

WorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी

  • २०८३ असोज १३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका

पूरा पढ्नुहोस्

Bureau Menus