न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ दुई समूहबीच झडप हुँदा एक युवक घाइते भएका छन् ।
घटनामा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
घटना साँझ करिब सवा ५ बजेतिर भएको प्रहरीको भनाइ छ । प्रारम्भिक रूपमा स्थानीयस्तरमा गोली चलेको र यादवको तिघ्रामा गोली लागेको खबर सार्वजनिक भएको थियो । घटनाबारे प्रारम्भिक जानकारी दिँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि गोली चलेको खबर आएपछि प्रहरी घटनास्थलतर्फ पठाइएको बताएका थिए ।
पछि जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको विवरणमा भने घटनालाई दुई यादव समूहबीचको झडपका रूपमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आपसी रिसइबीका कारण विवाद उत्पन्न भएपछि झडप भएको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले देवानगञ्ज–१ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गोली चलेको प्रारम्भिक विवरण सार्वजनिक भए पनि सुनसरी प्रहरीले आफ्नो पछिल्लो विवरणमा गोली प्रहार भएको विषय स्पष्ट रूपमा उल्लेख गरेको छैन । प्रहरीले घाइतेको खुट्टामा चोट लागेको जनाएको छ । घटनास्थलबाट हतियारसमेत बरामद भएको पुष्टि भएको छैन । यसकारण युवकलाई गोली लागेको हो वा झडपका क्रममा अन्य किसिमको चोट लागेको हो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । घटनापछि थप तनाव हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ ।
देवानगञ्जमा यसअघि पनि दुई समूहबीचको झडपपछि ठूलो तनाव सिर्जना भएको थियो । गत साउनमा देवानगञ्ज–३ को कप्तानगञ्ज क्षेत्रमा भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा सर्वसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । उक्त घटनापछि सुनसरीसहित मधेशका केही जिल्लामा समेत तनाव फैलिएको थियो ।
नेपाल प्रहरीको अभिलेखअनुसार साउन १० गतेको उक्त घटनामा प्रहरी र सशस्त्र प्रहरीतर्फ समेत सुरक्षाकर्मी घाइते भएका थिए र सर्वसाधारणतर्फ पनि गोली लागेर घाइते भएका थिए । त्यस घटनाको पृष्ठभूमिका कारण असोज ३ गतेको नयाँ झडपलाई समेत स्थानीय स्तरमा संवेदनशील घटनाका रूपमा हेरिएको छ ।
असोज ३ गतेको घटनामा भने हालसम्म मृत्यु भएको पुष्टि भएको छैन । घटनाको वास्तविक कारण, घाइते यादवलाई लागेको चोटको प्रकृति तथा घटनामा हतियार प्रयोग भएको वा नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- २०८३ असोज ४ आइतबार







