न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसमा महाधिवेशनको प्रक्रिया लिएर विवाद चर्किएको छ । सभापति गगन थापा समूहले वडा अधिवेशन अघि बढाइरहेका बेला देउवा समूहका नेता विमलेन्द्र निधिले आफ्नो समूहले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म छुट्टै अधिवेशन गर्ने बताएका छन् ।
संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशन प्रक्रिया अघि बढाएको भन्दै निधिले आफूहरूले उक्त प्रक्रिया स्वीकार गर्ने अवस्था नरहेको बताएका हुन् ।
सञ्चारमाध्यमसँग कुरा गर्दै निधिले आफ्नो समूहले असोज १५ गतेदेखि महाधिवेशनको छुट्टै प्रक्रिया अघि बढाउने र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको बताए ।
उनका अनुसार वडा तहदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म सबै अधिवेशन गरिनेछ ।
‘हामीले असोज १५ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने र मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशनसहित सबै तहको अधिवेशन गर्ने तयारी गरेका छौँ,’ निधिले भने ।
संस्थापन पक्षले जिल्ला र प्रदेश तहको अधिवेशन नगर्ने निर्णय गरेकोप्रति पनि निधिले प्रश्न उठाएका छन् ।
‘उनीहरूले जिल्ला र प्रदेशको नगर्ने भनेको छ । यसको अर्थ उनीहरू जिल्ला र प्रदेश, जुन हाम्रो संघीय प्रणाली हो, त्यसलाई छोड्न खोजेको हो कि क्या हो ?’ उनले प्रश्न गरे ।
यद्यपि, महाधिवेशनको प्रक्रिया अलग–अलग रूपमा अघि बढे पनि पार्टी एकताका लागि संवादको सम्भावना भने समाप्त नभएको निधिले बताए ।
सभापति गगन थापाले सार्वजनिक रूपमा असोज १६ गतेसम्म सहमतिको प्रयास गर्ने बताइरहे पनि आफ्नो समूहसँग अहिलेसम्म कुनै सम्पर्क नभएको निधिको दाबी छ ।
आफ्नो समूहका केही नेताहरू अर्को पक्षमा गएको विषयमा उनले त्यसलाई सम्बन्धित व्यक्तिको राजनीतिक स्वतन्त्रता भएको बताए ।
‘जसलाई जाने इच्छा छ, स्वतन्त्रता छ, अधिकार छ । जता जोसँग जाने, जुन पार्टीमा जाने, जोसँग जाने, ऊ स्वतन्त्र हुन्छ,’ निधिले भने ।
विशेष महाधिवेशनपछि नै कांग्रेस एउटै नरहेको दाबी गर्दै निधिले अहिले पनि पार्टीलाई एक बनाउने प्रयास भइरहेको बताए ।
‘पार्टी एउटै नरहेको त विशेष महाधिवेशनबाट नै पार्टी फुटिसकेको हो । त्यसैले पार्टी त एउटै छैन,’ उनले भने, ‘अहिले खाली हामीले कोसिस गरिरहेका छौँ । हामी अझै एउटा पार्टी बनोस् भन्ने चाहन्छौँ ।’
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा भने सर्वोच्च अदालतको निर्णय कुर्ने निधिले बताए । सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएकाले आफ्नो समूहले आधिकारिकता पाउनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ ।
‘सर्वोच्चलाई त कुर्नै प¥यो नि । सर्वोच्चको न्यायलाई त सबैले कुर्छन् । सर्वोच्चले न्याय दिन्छ भन्नेमा विश्वास छ । पुनरावलोकनको निस्सा दिएको छ । पुनरावलोकनको निस्सा भनेको हत्तपत्त पाइँदैन,’ निधिले भने ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै पार्टीको विवरण अद्यावधिक गरेको निर्णयसमेत गलत भएको निधिको जिकिर छ ।
अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राजनीतिक सहमतिको प्रयास पनि समाप्त भएको हो कि भन्ने प्रश्नमा उनले आफूहरूसँग अहिलेसम्म त्यस्तो कुनै सहमतिको प्रयास नभएको बताए ।
‘हामीलाई थाहा छैन । राजनीतिक सहमतिको प्रयास भएको छैन । अन्तिम फैसला आओस् न, के हुन्छ, त्यसपछि विचार गर्छौँ,’ निधिले भने ।
सिद्धार्थ शिशु सदनद्वारा बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग
- २०८३ असोज ४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित एवं घरविहीन परिवारको राहत तथा पुनर्स्थापनाका लागि सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले २ लाख
पूरा पढ्नुहोस्





