न्यूज ब्यूरो, सिरहा । ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा २२ महिनादेखि फरार रहेका मुख्य प्रतिवादी सिरहामा गोली लागेपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्दै आएका करिब ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन् ।
प्रहरीका अनुसार २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक भारततर्फ ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको नेतृत्वमा बीओपी बडारीबाट टोली खटिएको थियो ।
टोलीले भारतीय नम्बर प्लेटको DL 5 CJ 7171 नम्बरको टाटा सफारी गाडी रोकेर चेकजाँच गर्न खोज्दा गाडीका चालक तथा धनीसमेत रहेका कुरवानले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेको प्रहरीको विवरणमा उल्लेख छ ।
घटनापछि कुरवान फरार भएका थिए । उनीविरुद्ध ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलेपछि प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो ।
२२ महिनासम्म फरार रहेका कुरवानलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले २०८३ असोज ३ गते साँझ करिब ५ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुरवानसहित तीन जनाको समूहले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली चलाएर भाग्न खोजेको थियो । त्यसपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउन्ड गोली चलाएको जनाएको छ ।
प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा कुरवानसँग रहेका अन्य व्यक्तिहरूको पहिचान तथा उनीहरूको संलग्नताबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामो समयदेखि फरार रहेका ज्यानसम्बन्धी कसुरका मुख्य प्रतिवादी सीमा क्षेत्रमा गोली लागेर पक्राउ परेपछि घटनालाई प्रहरीले थप गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८३ असोज ४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्






