न्यूज ब्यूरो, जनकपुरधाम । आज पवित्र जानकी नवमी को अवसरमा जानकी मन्दिर परिसरमा भव्य रूपमा सवा लाख दीप प्रज्ज्वलन गरिने भएको छ। जनकपुरधाम स्थित मन्दिर प्राङ्गणमा साँझ विशेष कार्यक्रम आयोजना गरिँदै छ।
हिन्दूवादी संगठन जानकी सेनाको अगुवाइमा विगत पाँच वर्षदेखि विशेष पर्वका अवसरमा दीप प्रज्ज्वलन गर्दै आइएको छ। यस वर्ष पनि सवा लाख दीप बालेर माता सीताको जन्मोत्सवलाई भव्य रूपमा मनाउने तयारी गरिएको छ। कार्यक्रममा जनकपुरधामका स्थानीयवासीसहित श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासका अनुसार आजको दिनलाई अझ भव्य र ऐतिहासिक बनाउन विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। बिहानैदेखि दुधमत्ती नदी मा श्रद्धालुहरूले पवित्र स्नान (साही स्नान) गरेका छन्। त्यसपछि जानकीजीको डोला निकालेर गाजाबाजासहित नगर परिक्रमा गरिएको छ।
मन्दिर परिसरमा दिनभर विशेष पूजापाठ, मैथिली परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम, नाचगान, महाआरती तथा महाप्रसाद वितरणको व्यवस्था गरिएको छ।
जानकी नवमीको अवसरमा जनकपुरधामका घर–घरमा पनि दीपावलीझैँ दीप प्रज्ज्वलन गरी उत्सव मनाउने परम्परा रहँदै आएको छ। यस पर्वले माता सीताको जन्मभूमि जनकपुरधामलाई धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले थप चिनाउने विश्वास गरिएको छ।
- २०८३ बैशाख १२ शनिबार





