न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने बहुप्रतीक्षित कमला पुल चालु आर्थिक वर्षभित्र पनि निर्माण सम्पन्न नहुने भएको छ। उद्घाटनको तयारी भइरहेका बेला भासिएको उक्त पुल पुनःनिर्माणको काम अझै पूरा हुन नसक्दा दुई जिल्लाका सर्वसाधारणले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार वर्षायाम सुरु भएसँगै कमला नदीमा बाढीको जोखिम बढेकाले यस वर्ष पनि पुल निर्माण सम्पन्न हुने सम्भावना नरहेको छ। मधेश प्रदेशको ‘लाइफ लाइन’ मानिने ४७० मिटर लामो कमला पुल निर्माणको काम करिब डेढ दशकदेखि जारी छ।
पुल भासिएको घटनापछि विभिन्न समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरू स्थल निरीक्षणमा पुग्दै निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिँदै आएका छन्। केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भौतिक पूर्वाधार मन्त्री बनेका सुनिल लम्सालले पनि पुलस्थल पुगेर निरीक्षण गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत पुलसँगको तस्वीर सार्वजनिक गर्दै निर्माण कम्पनीलाई काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए।
कमला पुल निर्माणका लागि विसं २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीसँग ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर सम्झौताअनुसार काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्दै निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरेको थियो।
लुम्बिनी बिल्डर्सले निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्याएपछि विसं २०७८ साउनमा पुल उद्घाटनको तयारीसमेत गरिएको थियो। तर उद्घाटन हुनुअघि नै पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया (पिलर) भासिएपछि सम्पूर्ण योजना प्रभावित भएको थियो।
१३ वटा पाया (पिलर) र १२ वटा स्पान (स्ल्याब) रहेको पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीच उत्पन्न विवादका कारण लामो समयसम्म पुनःनिर्माण कार्य ठप्प बनेको थियो। त्यसपछि पुनः प्राविधिक अध्ययन, डिजाइन सुधार तथा पुनर्निर्माण प्रक्रिया अघि बढाइए पनि अपेक्षित गतिमा काम हुन सकेको छैन।
पुल निर्माणमा भएको ढिलाइका कारण धनुषा र सिरहाका नागरिकको दैनिकी प्रत्यक्ष प्रभावित हुँदै आएको छ। सिरहा नगरपालिका–१७ का प्रवीण साहका अनुसार कमला नदीमा पुल नहुँदा विशेष गरी वर्षायाममा आवतजावतमा गम्भीर समस्या हुने गरेको छ।
“जनकपुरधाम जानुपर्ने सर्वसाधारणले अनावश्यक दुःख पाएका छन्। बाढीका बेला यातायात अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि जनकपुर वा विराटनगर लैजानसमेत कठिन हुने गरेको छ,” उनले भने।
सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गमार्फत करिब ३० किलोमिटर दूरी पर्दछ। तर कमला पुल सञ्चालनमा नआउँदा धेरै नागरिकलाई महेन्द्र राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य हुनुपरेको छ, जसबाट यात्रा दूरी करिब ९० किलोमिटर पुग्ने गरेको छ।
स्थानीयवासीले पटक–पटक सरकार, निर्माण कम्पनी र सम्बन्धित निकायलाई पुल निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गर्दै आएका छन्। तर १५ वर्षअघि सुरु भएको आयोजना अझै अलपत्र रहँदा कमला पुल मधेश प्रदेशकै सबैभन्दा ढिलाइ भएको पूर्वाधार आयोजनामध्ये एक बनेको छ।
'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र
- २०८३ जेठ ३० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम
पूरा पढ्नुहोस्


