न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ ।
सहमतिको पहिलो बुँदामा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी देखिएकालाई प्रचलित कानुनबमोजिम तत्काल आवश्यक कारबाही अघि बढाउने उल्लेख छ ।
यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे तत्काल आवश्यक छानबिन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि सहमति भएको छ ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ ।
यसैगरी, सरकारले मृतक रवीन्द्रकुमार मेहताको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गर्ने र त्यहाँ दाहसंस्कार गर्ने सहमति गरेको छ ।
घटनामा ज्यान गुमाएका तीनै जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरी यसै वर्ष बजेट विनियोजन गरेर स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ ।
गत साउन १० गते कप्तानगञ्जमा भएको घटनामा तीन जनाको ज्यान गएको थियो । घटनापछि पीडित परिवारले दोषीमाथि कारबाही, मृतकलाई शहीद घोषणा तथा परिवारलाई राहत र रोजगारीलगायतका माग राख्दै आएका थिए ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ श्रावण २६ मंगलबार






