ऋण खाएका ऋणीहरुले भने, –'मिटरब्याजी साह परिवारविरुद्ध सीआईबीबाट छानबिन हुनुपर्छ'

२०८३ श्रावण २६ मंगलबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मिटरब्याज तथा अनुचित लेनदेन र ठगीको आरोपमा पक्राउ परेका एकै परिवारका तीन जनाविरुद्धको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छानबिन गर्न पीडितहरूले माग गरेका छन् ।

पीडित ऋणीहरूले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि सीआईबीमार्फत अनुसन्धान गर्न माग गरेका हुन् ।

उनीहरूले पैसाको बलमा साह परिवार पटक–पटक पक्राउ परे पनि छुट्दै आएको दाबी गर्दै पुनः अदालतबाट सफाइ पाउनेमा आफूहरू आशंकित रहेको बताएका छन् । त्यसैले घटनाको गहिरो अनुसन्धान सीआईबीबाट हुनुपर्ने उनीहरूको माग छ ।

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साहलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–जटहीस्थित सीमा नाकाबाट र हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध अनुसन्धान पूरा गरी जिल्ला अदालत धनुषामा सरकारी वकिलमार्फत अभियोगपत्र दर्ता भइसकेको छ । जिल्ला अदालतले मंगलबारदेखि उनीहरूको बयान लिन सुरु गर्ने जनाइएको छ ।

विदेह नगरपालिका निवासी गोविन्दकुमार साहले दिएको उजुरीका आधारमा उनीहरूलाई गत साउन २ गते पक्राउ गरिएको थियो । लामो अनुसन्धानपछि प्रहरीले उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरीका अनुसार गोविन्दकुमार साहले गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखेर कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसक्रममा रजिष्ट्रेसन गरी दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको आरोप छ ।

अनुसन्धानका क्रममा प्रहरीले जनकपुरधामस्थित गोपाल साहको घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको जनाएको छ ।

साह परिवारले विभिन्न सहकारी तथा फर्म सञ्चालन गरी त्यसका नाममा अनुदान रकमको दुरुपयोग गर्ने, ऋण दिएर ऋणीको जग्गा रजिष्ट्रेसन पास गराउने तथा उक्त जग्गा बिक्री गर्ने वा बैंकमा धितो राखेर थप ऋण लिने गरेको आरोप पीडितहरूले लगाएका छन् ।

साह परिवारविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा थप आठ वटा उजुरीसमेत परेको जनाइएको छ । ती उजुरीमाथि पनि अनुसन्धान गरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

थप उजुरी दिनेमा विदेह नगरपालिका–१ का बहुरी राउत, मिथिला नगरपालिका–८ की शिवसती कुमारी महतो, शहीदनगर नगरपालिका–३ का मोहम्मद काशिम, कमला नगरपालिका–४ की सुलिना खातुन, क्षिरेश्वरनाथ नगरपालिका–४ का युसुफ राईन, क्षिरेश्वरनाथ नगरपालिका–६ का राजीवकुमार सिंह, मिथिला नगरपालिका–६ का कृष्णलाल दास र जनकपुरधाम उपमहानगरपालिका–४ की निलम ठाकुर रहेका छन् ।

पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिका–४ की निलम ठाकुरले आफ्ना श्रीमानले जग्गा पास गरी गोपाल साहसँग एक करोड ९ लाख रुपैयाँ ऋण लिएको बताइन् । तर, पछि जनकपुरधामको मुरली चोकमा रहेको पाँच कट्ठा जग्गा बिक्री गरिदिएको आफूले थाहा पाएको उनको भनाइ छ ।

आफूले पटक–पटक रकम फिर्ता गरेर जग्गा फिर्ता गरिदिन आग्रह गरे पनि साह परिवारले आलटाल गर्दै आएको ठाकुरले आरोप लगाइन् ।

यस्तै, मिथिला नगरपालिका–६ का कृष्णलाल दासले छोरीको विवाहका लागि विभिन्न मितिमा गरी १५ लाख ५० हजार रुपैयाँ ऋण लिएको बताए । आफूले पटक–पटक गरी १० लाख रुपैयाँभन्दा बढी रकम चुक्ता गरिसकेको भए पनि बाँकी रकम बुझाएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा पनि आलटाल गरिएको उनको आरोप छ ।

केही दिनअघि मात्रै आफ्नो जग्गा साह परिवारले बिक्री गरिसकेको थाहा पाएको दासले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित अन्य पीडितहरूले पनि साह परिवारमाथि ऋण दिएको रकमभन्दा धेरै मूल्य पर्ने जग्गा आफ्नो नाममा रजिष्ट्रेसन गराउने, पछि जग्गा बिक्री गर्ने तथा बैंकमा धितो राखेर थप ऋण लिने गरेको आरोप लगाए ।

उनीहरूले साह परिवारबाट आफूहरूजस्तै सयौं व्यक्ति पीडित भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, पीडितको जग्गा फिर्ता तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।

पीडितहरूले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ । यस विषयमा प्रहरी अनुसन्धान तथा अदालतमा विचाराधीन मुद्दाबाट आरोपको वास्तविकता र दोषीको कानुनी दायित्व टुंगो लाग्नेछ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

  • २०८३ श्रावण २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus