जनकपुरधामका स्कूलमा विषयगत शिक्षककै अभाव, ‘कक्षा छ, विद्यार्थी छन्, पढाउने शिक्षक छैनन्’

२०८३ भदौ १४ आइतबार
बिहान १०:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको अभिभावक तथा स्थानीयले गुनासो गरेका छन् ।

शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि कतिपय विद्यालयमा महत्वपूर्ण विषयका नियमित कक्षा सञ्चालन हुन नसकेको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा वैशाखदेखि माध्यमिक तहको विज्ञान विषयको नियमित पठनपाठन हुन नसकेको अभिभावकको दाबी छ ।

विद्यालयमा कार्यरत पुरुष शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरी महिला शिक्षक ल्याएर विद्यालयलाई पूर्णरूपमा कन्या विद्यालयका रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइए पनि विषयगत शिक्षक व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको अभिभावकको आरोप छ ।

विज्ञान विषयको नियमित कक्षा सञ्चालन हुन नसक्दा पाठ्यक्रम समयमै पूरा नहुने र आगामी परीक्षामा विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भन्दै अभिभावकले तत्काल शिक्षक व्यवस्थापन गर्न माग गरेका छन् ।

‘विद्यालयमा विद्यार्थी छन्, कक्षा पनि छ, तर पढाउने विषयगत शिक्षक छैनन् । यस्तो अवस्थामा पाठ्यक्रम कसरी पूरा हुन्छ रु विद्यार्थीले गुणस्तरीय शिक्षा कसरी पाउँछन् रु’ एक अभिभावकले प्रश्न गरे ।

त्यस्तै, जनकपुरधामको कण्टिर माध्यमिक विद्यालय, बभनगामामा पनि सामाजिक विषय पढाउने शिक्षकको अभाव रहेको स्थानीयले बताएका छन् । शिक्षक नहुँदा विद्यार्थीले सामाजिक विषयको नियमित कक्षा लिन नपाएको उनीहरूको गुनासो छ ।

जनकपुरधामका अन्य केही सामुदायिक विद्यालयमा समेत विषयगत शिक्षकको अभाव रहेको स्थानीय तथा अभिभावकको भनाइ छ । शिक्षकको संख्या मात्रै पूरा गरेर विद्यालयको शैक्षिक अवस्था सुधार नहुने भन्दै उनीहरूले विषयअनुसार शिक्षकको आवश्यकता पहिचान गर्नुपर्ने माग गरेका छन् ।

अभिभावकहरूका अनुसार विद्यालयमा कुन विषयका लागि कति शिक्षक आवश्यक छन् भन्ने वास्तविक अवस्था अध्ययन गरेर मात्रै सरुवा तथा पदस्थापन गर्नुपर्छ ।

‘शिक्षक सरुवा गर्दा विद्यार्थीको पढाइभन्दा अन्य विषयलाई प्राथमिकता दिइयो भने त्यसको प्रत्यक्ष मार विद्यार्थीमाथि पर्छ,’ एक स्थानीयले भने ।

शैक्षिक सत्रको महत्वपूर्ण समय बितिसक्दा समेत विषयगत शिक्षकको अभाव समाधान हुन नसक्नु गम्भीर विषय भएको भन्दै अभिभावकले जनकपुरधाम उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले उपमहानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा विषयगत शिक्षकको वास्तविक अवस्था तत्काल अध्ययन गरी आवश्यक विषयमा शिक्षक पदस्थापन गर्नुपर्ने माग गरेका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ भदौ १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus