प्रहरीको एसपीलाई धम्क्याएको आरोपमा सर्लाहीका पूर्वसांसद यादव पक्राउ

२०८३ भदौ २४ बुधबार
बिहान ०८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक कुमार यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत गालीगलौज तथा धम्की दिएको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो । मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार घटना २०८२ साल असारको हो । त्यसबेला यादव र तत्कालीन एसपी खड्काबीच भएको टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त संवादमा यादवले एसपी खड्कालाई अपशब्द प्रयोग गर्दै तराईमा ‘लुट्न आएको लुटेरा’ भन्दै धम्की दिएको आरोप लागेको थियो ।

अडिओ सार्वजनिक भएपछि प्रहरीले यादवविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो । त्यसपछि उनी लामो समयदेखि फरार रहँदै आएको प्रहरीले जनाएको छ । यादवविरुद्ध सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

यसैबीच यादव पछिल्लो समय सर्लाहीको कविलासी नगरपालिकामा प्रहरीमाथि आक्रमण भएको अर्को घटनामा समेत अनुसन्धानको दायरामा आएका थिए । जेठ २५ गते राति यादवको स्वामित्वमा रहेको ज.१ त.२५५० नम्बरको ट्याक्टरले कविलासी नगरपालिका–८ अगर्वामा रोकेर राखिएको ना.६ ख.७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

घटनापछि प्रहरीले ट्याक्टर चालक र ट्रक चालकलाई छलफल गरी विवाद समाधान गर्न वा कुरा नमिले प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो । त्यसपछि ट्याक्टर चालकले यादवलाई घटनास्थलमा बोलाएका थिए । यादव घटनास्थल पुगेपछि उनीसँगै आएका केही व्यक्तिले प्रहरीलाई घेरेर दुर्व्यवहार तथा आक्रमण गरेको आरोप छ । उक्त घटनामा यादवका भतिज विक्रमकुमार यादव र भारतीय नागरिक प्रियाङ्शु यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । यादवलाई पनि सोही घटनामा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने तयारी गरिएको थियो ।

यादव २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट मधेस प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एसपी खड्कालाई धम्की दिएको समयमा उनी जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए । पछिल्लो समय भने उनी नेकपा आबद्ध छन् ।

प्रहरीले पक्राउ परेका यादवमाथि घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । यादवमाथिका आरोपबारे थप अनुसन्धानपछि घटनाको कानुनी अवस्था स्पष्ट हुने प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Bureau Menus