न्यूज ब्यूरो, जनकपुरधाम । भारतका विभिन्न विश्वविद्यालय तथा कलेजमा भएका विद्यार्थी संघ निर्वाचनमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले विभिन्न पदमा जित हासिल गरेको छ ।
पछिल्लो समय भएका विद्यार्थी संघ निर्वाचनका सार्वजनिक परिणामअनुसार एबीभीपीले दिल्ली विश्वविद्यालयदेखि पञ्जाब, कर्नाटक, तेलंगाना र केरलासम्मका विभिन्न क्याम्पसमा अध्यक्षसहित महत्वपूर्ण पदमा जित निकालेको हो ।
दिल्ली विश्वविद्यालय विद्यार्थी संघको निर्वाचनमा एबीभीपीले चार प्रमुख पदमध्ये तीन पदमा जित हासिल गरेको छ ।
एबीभीपीका यश दाबस अध्यक्ष, रिया छावडी सचिव र लक्ष्यराज सिंह संयुक्त सचिव निर्वाचित भएका छन् । उपाध्यक्ष पद भने स्वतन्त्र उम्मेदवार दीपांशु शोकिनले जितेका छन् ।
दिल्ली विश्वविद्यालयअन्तर्गतका विभिन्न कलेजमा पनि एबीभीपीका उम्मेदवारले उल्लेख्य जित हासिल गरेका छन् ।
अदिति महाविद्यालय, श्री अरबिन्दो कलेज, डा. बीआर अम्बेडकर कलेज, भारती कलेज र शिवाजी कलेजमा एबीभीपीले प्रमुख पदमा सफलता हासिल गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
रामजस कलेजमा अध्यक्ष, सचिव, केन्द्रीय काउन्सिलर तथा आन्तरिक उजुरी समितिको पदमा एबीभीपीका उम्मेदवार निर्वाचित भएका छन् ।
पञ्जाब विश्वविद्यालय विद्यार्थी परिषद्को निर्वाचनमा एबीभीपीका अंकित बिधान अध्यक्ष निर्वाचित भएका छन् ।
उनले एएपीसम्बद्ध विद्यार्थी संगठनका उम्मेदवार आदिल ब्रारलाई ५१२ मतले पराजित गरेका हुन् । बिधानले ३ हजार १४९ मत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर्नाटकमा ३७ वर्षपछि चुनाव, एबीभीपी समर्थित प्यानलको जित
कर्नाटकमा ३७ वर्षपछि विद्यार्थी संघ निर्वाचन भएपछि मङ्गलुरुको मङ्गलोर विश्वविद्यालय कलेजमा एबीभीपी समर्थित उम्मेदवारले सबै ६ पदमा जित हासिल गरेका छन् ।
हाम्पनकट्टास्थित कलेजमा भएको निर्वाचनमा एबीभीपी समर्थित उम्मेदवारले सबै प्रमुख पदमा जित निकालेको रिपोर्टमा उल्लेख छ ।
केरलामा चार दशकपछि एबीभीपीको ‘स्वीप’
केरलाको त्रिपुनीथुरा सरकारी संस्कृत कलेजमा एबीभीपीले विद्यार्थी संघका सबै प्रमुख पदमा जित हासिल गरेको छ ।
उपलब्ध विवरणअनुसार एबीभीपीका उम्मेदवारले १२ वटै पदमा जित निकालेका छन् । यसअघि लामो समयदेखि वामपन्थी विद्यार्थी संगठन एसएफआईको प्रभाव रहेको उक्त कलेजमा एबीभीपीले सबै पद जितेको रिपोर्टमा उल्लेख छ ।
हैदराबाद केन्द्रीय विश्वविद्यालयमा सबै प्रमुख पद
हैदराबाद केन्द्रीय विश्वविद्यालय विद्यार्थी संघ निर्वाचनमा पनि एबीभीपीले सबै प्रमुख पदमा जित हासिल गरेको संगठनले जनाएको छ ।
अध्यक्षमा आरती नागपाल, उपाध्यक्षमा अमित कुमार, महासचिवमा धीरज साङ्गोजी, संयुक्त सचिवमा प्रवीन कुमार, सांस्कृतिक सचिवमा अरविन्द कुमार र खेलकुद सचिवमा निखिल राज निर्वाचित भएको एबीभीपीको आधिकारिक विवरणमा उल्लेख छ ।
जेएनयूमा संयुक्त सचिवसहित २३ काउन्सिलर
जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ निर्वाचनमा एबीभीपीले संयुक्त सचिव पद जितेको छ । संगठनका अनुसार उसले २३ काउन्सिलर सिटसमेत जितेको छ ।
एबीभीपीले जेएनयूका केही परम्परागत रूपमा वामपन्थी प्रभाव रहेका स्कुलमा समेत आफ्ना काउन्सिलर निर्वाचित भएको जनाएको छ ।
यसरी पछिल्लो समय भएका विभिन्न विद्यार्थी संघ निर्वाचनमा एबीभीपीले दिल्ली, पञ्जाब, कर्नाटक, तेलंगाना र केरलाका क्याम्पसमा विभिन्न पदमा जित हासिल गरेको सार्वजनिक परिणामले देखाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८३ असोज ७ बुधबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्



