महोत्तरीका एक मेयरले मलाई पिट्न वा पिटाउन सक्छु भनेर धम्की दियोः साँसद साह

२०८३ असोज ९ शुक्रबार
बिहान ०८:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी क्षेत्र नं. २ का सांसद दिपक कुमार साहले आफूलाई एक नगर प्रमुखले फोन गरेर पालिकाभित्रका कुनै पनि वडामा आए पिट्ने तथा पिटाउने धम्की दिएको दाबी गरेका छन् ।

सांसद साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टेटसमा नगर प्रमुखले फोनमार्फत आफूलाई धम्की दिएको उल्लेख गरेका हुन् ।

साहका अनुसार नगर प्रमुखले फोनमा ‘पिट्न वा पिटाउन सकिनँ भने म मेरो बुवाको छोरा होइन’ भन्ने शब्द प्रयोग गरेका थिए ।

साहले उक्त अभिव्यक्तिलाई सामान्य राजनीतिक असहमति नभई आफ्नो सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर विषयका रूपमा प्रस्तुत गरेका छन् ।

उनले राजनीतिमा असहमति, मतभेद र बहस स्वाभाविक भए पनि जननिर्वाचित जिम्मेवार पदमा रहेका व्यक्तिबाट शारीरिक आक्रमणको धम्की आउनु गम्भीर विषय भएको बताएका छन् ।

‘म यसलाई व्यक्तिगत विवाद बनाउन चाहन्नँ,’ साहले भनेका छन्, ‘तर मेरो सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यो घटनालाई सार्वजनिक जानकारीमा राख्दै ध्यानाकर्षण गराउन चाहन्छु।’

साहले कुनै पनि पालिका वा त्यसअन्तर्गतका वडा कसैको निजी क्षेत्र नभएको उल्लेख गर्दै नागरिकसँग भेट्न, उनीहरूका कुरा सुन्न र आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक परेको स्थानमा आफू जाने बताएका छन् ।

धम्कीका कारण आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्दै साहले राजनीतिमा डर, धम्की र हिंसाको नभई विचार, संवाद र लोकतान्त्रिक संस्कारको अभ्यास हुनुपर्ने बताएका छन् ।

सांसद साहले सार्वजनिक गरेको दाबीले स्थानीय तह र संघीय जनप्रतिनिधिबीचको राजनीतिक सम्बन्धलाई समेत चर्चामा ल्याएको छ । यद्यपि, धम्की दिएको भनिएका नगर प्रमुखको यस विषयमा तत्काल कुनै सार्वजनिक प्रतिक्रिया भने आएको छैन ।

घटनाबारे साहले कुनै कानुनी प्रक्रिया अघि बढाएको वा सुरक्षा निकायमा औपचारिक उजुरी दिएको विषय भने उनको सार्वजनिक स्टेटसबाट स्पष्ट भएको छैन ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

भारी वर्षाको सम्भावनाबीच कमला–बलान नदीको स्थलगत निरीक्षण, सिरहाका नदी किनारमा उच्च सतर्कता

  • २०८३ असोज ९ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । जल तथा मौसम विज्ञान विभागले केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका प्रमुख नदीहरूको स्थलगत निरीक्षण गरेको छ । सहायक

पूरा पढ्नुहोस्

Bureau Menus