एसईई परीक्षामा Whatsapp ग्रुपबाट चिट चोरी गराउने गिरोह पर्दाफास, ३ युवक पक्राउ !

२०८२ चैत २० शुक्रबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट ।  रौतहटबाट एक गम्भीर खबर सार्वजनिक भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को मर्यादा भंग गरेको आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ। गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडा बजारबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका वडा नं. ७ का १८ वर्षीय चन्दन पटेल, बृन्दावन नगरपालिका वडा नं. ७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहेका छन्।

प्रहरीका अनुसार चैत २० गते बिहान करिब १०ः३० बजे उनीहरू परीक्षा सम्बन्धी गोप्य सामग्री दुरुपयोग गरिरहेको अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक जीवन कुमार मैनालीले घटनाको पुष्टि गरेका छन्।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले ह्वाट्सएप ग्रुपमार्फत परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनको प्रयोग गरी परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने गरेको खुलेको छ। प्रविधिको दुरुपयोग गर्दै परीक्षाको निष्पक्षता माथि गम्भीर प्रहार भएको भन्दै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो। 

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो घटनाले एसईई जस्तो संवेदनशील परीक्षाको सुरक्षामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus