भोटेकोशी बाढीमा मधेशका ८ जिल्लाका १२६ जना बेपत्ता, सप्तरीकै ३० जना

२०८३ भदौ १३ शनिबार
बिहान ०९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका आठ जिल्लाका १२६ जना बेपत्ता भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको जिल्लागत विवरणअनुसार शुक्रबार दिउँसोसम्म मधेशका आठै जिल्लाबाट १२६ जनाको नाम बेपत्ता सूचीमा संकलन गरिएको हो ।

प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी सप्तरीका ३० जना बेपत्ता छन् । त्यसपछि पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका ९ र धनुषाका ५ जना बेपत्ता सूचीमा छन् ।

बेपत्ता हुनेहरूमा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका मधेशका नागरिकको संख्या ठूलो रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये अधिकांश अपर त्रिशूली जलविद्युत आयोजना तथा अन्य जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर, कामदार र उनीहरूका परिवारका सदस्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको विवरणअनुसार सप्तरीका बेपत्ता व्यक्तिहरू महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, बोदेबरसाइन, राजगढलगायत स्थानीय तहका छन् ।

पर्साका बेपत्ता नागरिकहरू वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पटेर्वासुगौलीलगायत विभिन्न स्थानीय तहका रहेका छन् । बाराका बेपत्ता व्यक्तिहरू कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुर सिमरा, सुवर्णलगायत क्षेत्रका छन् ।

त्यस्तै रौतहटका बेपत्ता नागरिकहरू चन्द्रपुर, गौर, राजदेवी, ईशनाथलगायत स्थानीय तहका रहेका छन् । सर्लाहीबाट लालबन्दी, ईश्वरपुर तथा हरिपुर क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् ।

महोत्तरीका बेपत्ता नागरिकहरू गौशाला र जलेश्वरलगायत क्षेत्रका रहेका छन् । धनुषाका बेपत्ता व्यक्तिहरूमध्ये हंसपुर र कमला नगरपालिका क्षेत्रका नागरिक छन् । सिरहाबाट मिर्चैया, गोलबजार र धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता रहेको विवरणमा उल्लेख छ ।

बेपत्ता हुनेहरूको उमेरमा पनि ठूलो विविधता देखिएको छ । सूचीमा तीन वर्षका बालकदेखि ७० वर्षीया महिलासम्म रहेका छन् । सप्तरीको खडक नगरपालिका–७ का तीन वर्षीय दिवस रामसमेत बेपत्ता सूचीमा छन् ।

त्यस्तै धनुषाको हंसपुर नगरपालिका क्षेत्रकी ७० वर्षीया ज्ञाती देवी यादव पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार फोन तथा विभिन्न सञ्चार माध्यमबाट शुक्रबार दिउँसोसम्म प्रदेशका आठै जिल्लाबाट १२६ जना बेपत्ता भएको विवरण संकलन गरिएको हो ।

नामावली संकलनको काम अझै जारी रहेकाले बेपत्ता हुनेको संख्या थप बढ्न सक्ने अधिकारीले बताएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीको प्रभाव रसुवाबाट तलतिर नुवाकोट, धादिङ, चितवनलगायत जिल्लासम्म परेको छ । बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएको छ भने नेपाल प्रहरीले शुक्रबार दिउँसोसम्म ४८९ जनाको मृत्यु भएको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गरिमा बलात्कार हत्या प्रकरणमा थप एक जना गरी अहिलेसम्म ९ जना पक्राउ, अनुसन्धान कडा

  • २०८३ भदौ १३ शनिबार

न्यूज ब्यूरो, बारा ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा

पूरा पढ्नुहोस्

Bureau Menus