न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको भन्दै नगरप्रमुख संजिवकुमार साहले नगरपालिका कार्यालयसहित नौवटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगरप्रमुख साहले यसअघि प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र हाजिर नभए अत्यावश्यक सेवाबाहेक नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका थिए । सो समयसीमा सकिएपछि सोमबार उनले नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको नगरप्रमुख साहको भनाइ छ ।
साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन आफू पटक–पटक मन्त्रालय पुगेर आग्रह गरे पनि समस्या समाधान हुन सकेन । मन्त्रीसँग भेटेर समस्या राख्न खोज्दा भेट नपाएको र स्वकीय सचिवमार्फत समेत समस्या समाधानका लागि पहल गर्दा सुनुवाइ नभएको उनले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको नगरप्रमुख साहको दाबी छ । कर्मचारी तथा जनप्रतिनिधिको तलब–भत्ता भुक्तानी, विकास योजनाको कार्यान्वयन तथा दैनिक सेवा प्रवाहमा समेत समस्या भइरहेको उनले बताए ।
विशेषगरी दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब–भत्ता उपलब्ध गराउनसमेत कठिनाइ उत्पन्न भएको उनको भनाइ छ ।
तालाबन्दी गरेपछि नगरप्रमुख साहले कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा वित्तीय काम र नागरिक सेवा प्रवाह सुचारु गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको छ ।
- २०८३ असोज १२ सोमबार



