न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ ।
डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ ।
डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर जनकपुरधामस्थित देवीचोकको निवासमा अन्तिम दर्शनका लागि राखिएको छ ।
मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा स्थापित डा. विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ । साहित्य, भाषा, शिक्षा र संस्कृतिको क्षेत्रमा लामो समय योगदान दिएका उनी जनकपुरको साहित्यिक वृत्तमा शालीन, भद्र व्यक्तित्व तथा साहित्यिक गुरुका रूपमा सम्मानित थिए ।
डा. विमल मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत थिए । मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
डा. विमलको जन्म २६ जुलाई १९४७ मा धनुषा जिल्लाको देवडिहा गाउँसँगै रहेको खिरखिरिया गाउँमा भएको थियो । नेपाली, मैथिली र हिन्दी भाषामा स्नातकोत्तर गरेका उनले भाषाविज्ञान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका थिए ।
जीवनको लामो समय शिक्षण पेशामा बिताएका डा. विमलले जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा प्राध्यापन गरेका थिए । चार दशकभन्दा लामो समय प्राध्यापनमा बिताएर उनी अवकाशप्राप्त भएका थिए ।
डा. विमलको साहित्यिक यात्रा लामो र बहुआयामिक थियो । उनको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’मा प्रकाशित भएको थियो । त्यसयता उनी निरन्तर साहित्यका विभिन्न विधामा सक्रिय रहे ।
उनले कथा, गीत, गजल, कविता, नाटक, टेलीसिरियल, उपन्यास, समालोचना र बालसाहित्यलगायतका विधामा कलम चलाएका थिए । उनी कुशल सम्पादक, अनुवादक तथा भाषाविद्का रूपमा समेत परिचित थिए ।
उनका प्रमुख कृतिहरूमध्ये आकृति संस्थाद्वारा प्रकाशित ‘ई हमरे कथा थिक’, मैथिली विकास कोषद्वारा प्रकाशित ‘इतिहासक घाओ’, ‘बौआक पोथि’, ‘सुरुज उगवासँ पहिने’ लगायतका कृति रहेका छन् । ‘सरबरिआ गाउँको कथा’, ‘फिस्टी रानी’ लगायतका उनका रचना पनि चर्चित छन् ।
उनको लेखन गोरखापत्र, मधुपर्क, गरिमालगायतका पत्रपत्रिकामा समेत प्रकाशित हुँदै आएको थियो । मैथिली टेलिफिल्म ‘हंसा चलल परदेश’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो ।
पहिलो नेपाल विद्यापति भाषा–साहित्य पुरस्कार
डा. विमल नेपाली तथा मैथिली साहित्यमा पुर्याएको योगदानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सम्मानित भएका थिए । विद्यापति पुरस्कार कोषद्वारा स्थापित नेपाल विद्यापति भाषा–साहित्य पुरस्कार पहिलोपटक उनलाई प्रदान गरिएको थियो ।
उनले गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धी श्रीलगायतका पुरस्कार तथा विभिन्न सम्मान प्राप्त गरेका थिए ।
डा. विमलका रचनामा राष्ट्रप्रतिको चेतना, मैथिल पहिचान, मातृभाषाप्रतिको निष्ठा तथा आफ्नो माटो र समाजप्रतिको गहिरो प्रेम अभिव्यक्त भएको पाइन्छ ।
उनका सिर्जनामा नेपालभित्रको मिथिला, मिथिलाको लोकजीवन, चेतना, पीडा, प्रेम, वियोग, छटपटी, आक्रोश, विक्षोभ र विद्रोह मौलिक तथा प्रभावशाली ढंगले प्रस्तुत भएका छन् ।
समाज र राजनीतिबाट उत्पन्न तनाव तथा त्यसका परिणामलाई उनले स्वतन्त्र र निजी सिर्जनात्मक दृष्टिकोणबाट आफ्ना रचनामा प्रस्तुत गरेका थिए । उनको साहित्यले मिथिलाको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक जीवनलाई नेपाली साहित्यको मूलधारसँग जोड्ने काम गरेको साहित्यकारहरूको धारणा छ ।
चार दशकभन्दा लामो प्राध्यापन यात्रासँगै साहित्य सिर्जनामा निरन्तर सक्रिय डा. विमल आफ्नो प्रज्ञा, प्रभाव, सिर्जना र समीक्षणका कारण जनकपुरधामको साहित्यिक क्षेत्रमा विशेष सम्मानित थिए ।
उनको निधनले मैथिली साहित्य, नेपाली साहित्य तथा जनकपुरको बौद्धिक र साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा साहित्यप्रेमीहरूले बताएका छन् । डा. विमल मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा सधैं स्मरणीय रहनेछन् ।