न्यूज ब्यूरो, जनकपुरधाम । स्थ्य क्षेत्रका समस्या, सेवाको पहुँच र जनचासोका विषयलाई निरन्तर समाचारमार्फत उजागर गर्दै आएका मधेश प्रदेशका दुई महिला पत्रकार ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनु भएका छन्।
रौतहटको गौरमा रहेको जिल्ला समन्वय समिती गौरको सभाहलमा सोमबार संचार उद्यमी रामा यादबको पाचौँ पुण्य तिथीमाको अवसरमा आयोजित कार्यक्रममा धनुषाकी पत्रकार चाँदनी झा र बाराकी पत्रकार शारदा पोखरेललाई सम्मान गरिएको छ ।
पत्रकार झा र पोखरेललाई जनही नगद २६ हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरिएको आयोजक रामा यादव स्मृति प्रतिष्ठान रौतहटले जनाएको छ ।
पत्रकार झा र पोखरेल लामो समयदेखि विभिन्न संचार माध्यममा स्वास्थ्य सम्बन्धी समाचार लेख्दै आउनु भएको छ । विशेषगरी स्वास्थ्य संस्थाका कमजोर अवस्था, स्थानियले भोग्ने पर्ने कठिनाइ र स्वास्थ्य सेवाको पहुँचसम्बन्धी विषयलाई उहाँहरुले प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ।
रामा यादव स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गर्दै आएको ’रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार २०८१ को लागि बारा जिल्लाबाट रातोपाटी अनलाईनको संवाददाता शारदा पोखरेल र “रामा यादव स्मृति” पत्रकारिता पुरस्कार २०८२ महोत्तरी खुट्ट पिपराठी ४ की प्राइम टेलिभिजनमा कार्यरत चाँदनी झालाई दिने निर्णय गरिए अनुसार उहाँहरुको पुरस्कार सहित सम्मान गरिएको प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनु भएको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण २०७८ साल बैशाख २८ गतेका दिन संचार उद्यमी रामा यादबको मृत्यु भएको थियो । उहाँ जयरामा मिडिया प्रा।लिद्वारा संचालित रेड टिभी, रेड पोष्ट, रेडखबर लगायतका संचारमाध्यमहरुको संचालन गर्दै संचार क्षेत्रमा एउटा सफल संचार उद्यमीको रुपमा स्थापित हुनुहुन्थ्यो ।
गत वर्ष विभिन्न कारणले गर्दा पुरस्कार प्रदान गर्न न सक्दा यस वर्ष दुबै वर्षमा छनौट भएकी महिला पत्रकारलाई पुरस्कार सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
सञ्चार क्षेत्रमा बढ्दै गएको चुनौती र पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथी मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले पत्रकारहरूको अधिकार र सम्मानका लागि संगठित हुनुपर्ने आवश्यकता जिकिर गर्नु भयो ।
उहाले पत्रकारलाई आवाजविहीन समुदायको आवाज भएको उल्लेख गर्दै पत्रकारितामा श्रमअनुसार प्रतिफल नपाउँदा विकृति र अस्वस्थ प्रवृत्ति बढ्दै गएको भन्दै जिम्मेवार, सकारात्मक र समाजप्रति उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले तराई–मधेश क्षेत्रमा महिला पत्रकारको सहभागिता अझै न्यून रहे पनि कठिन परिस्थितिमा सक्रिय महिला पत्रकारहरूले तथ्यमा आधारित समाचारमार्फत उल्लेखनीय योगदान पुर्याउदै आएको बताउदै स्वास्थ्यलगायत सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाइरहेका महिला पत्रकारप्रति सम्मान व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की तथा वरिष्ठ पत्रकार प्रभातकुमार झाले पत्रकारितामा सकारात्मक परिवर्तन ल्याउन र महिला सञ्चारकर्मीलाई प्रोत्साहन गर्न स्थापना गरिएको ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कारले नयाँ पुस्ताका पत्रकारलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नु भयो ।
पुरस्कृत पत्रकार चाँदनी झा र शारदा पोखरेलले पत्रकारिता यात्रामा अनेक कठिनाइ र संघर्ष सामना गर्नुपरेको अनुभव सुनाउँदै चुनौतीबीच पनि सत्य र जनसरोकारका विषयमा निरन्तर लागिरहँदा प्राप्त सम्मानले थप ऊर्जा र आत्मविश्वास मिलेको प्रतिक्रिया दिनु भएको थियो ।
कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले स्वागत मन्तव्यको क्रममा आगामी वर्षहरूमा पुरस्कारलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउँदै महिला पत्रकारहरूको सम्मान र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
आनन्द शर्माले संचालन गर्नु भएको कार्यक्रम रामा यादव स्मृति प्रतिष्ठानकी संयोजक अनु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा सहित करिब ५० जना भन्दा बढी सञ्चारकर्मी सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
- २०८३ बैशाख २८ सोमबार








