न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा राजगुठीअन्तर्गतका अतिक्रमित जग्गा तथा संरचना हटाउने अभियान अन्ततः कार्यान्वयनमा जाने भएको छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले भोलि शनिवारदेखि अतिक्रमित क्षेत्रमा डोजर चलाएर संरचना हटाउने तयारी गरेको हो ।
समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा अतिक्रमणमा परेका पोखरी तथा पोखरीका डिल खाली गराइनेछ । पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने तयारी छ ।
अभियानको सुरुवात भोलि गोरधोइ पोखरीको डिलबाट गरिने भएको छ । अतिक्रमित क्षेत्र खाली गराउन गत साउन १ गते नै सार्वजनिक सूचना जारी गरिसकिएको र तोकिएको समयभित्र अतिक्रमण हटाउन आज जनकपुरधामका विभिन्न क्षेत्रमा माइकिङ भइरहेको पोखरेलले बताए ।
यसअघि सरकारले जनकपुरधामभित्र राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको थियो । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित पक्षलाई समय दिएको थियो ।
उक्त सूचनामा विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर, मुरली सर, दीर्घिका सर, गोरधोइ पोखरीलगायतका जलाशय तथा तिनका डिलमा भएका अनधिकृत संरचना हटाउन भनिएको थियो । रामसागर, धनुषसागर, गंगासागर, पुरन्दर सर, तेलहा–मरहा पोखरी, देवान पोखरी, लक्की पोखरी, पापमोचनी सर, कपालमोचनी सर, महाराजसागर, रामसर, सूर्यकुण्ड, अग्निकुण्ड, विहारकुण्ड र रुक्मिणी सरलगायतका पोखरी पनि राजगुठीअन्तर्गत रहेको समितिले जनाएको थियो ।
यो पनि पढ्नुहोस्

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी र पोखरीका डिलमा अनधिकृत संरचना निर्माण गरी लामो समयदेखि भोगचलन गर्दै आएका छन् । सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो । तोकिएको अवधिमा अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार संरचना हटाउनुका साथै आवश्यक कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।
अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदनलाई मुख्य आधार बनाइएको समितिका सदस्य सचिव पोखरेलले बताए । उक्त कार्यदलले जनकपुरका गुठी जग्गा तथा अतिक्रमित क्षेत्रको पहिचान गरी प्रतिवेदन तयार पारेको थियो ।
समितिले अतिक्रमण हटाउने कामलाई तीन चरणमा अघि बढाउने तयारी गरेको छ । पहिलो चरणमा पोखरी तथा पोखरीका डिल, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाइनेछ ।
जनकपुरधामका ऐतिहासिक पोखरी, मन्दिर तथा गुठी सम्पत्तिमाथि लामो समयदेखि अतिक्रमण भइरहेको विषय पटक–पटक सार्वजनिक हुँदै आएको छ । सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि विगतमा विभिन्न प्रतिवेदन र निर्णय भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अतिक्रमण हटाउने विषय चुनौती बन्दै आएको थियो ।
यसपटक भने पुरानो कार्यदलको प्रतिवेदन, गुठीसम्बन्धी अभिलेख तथा स्थलगत पहिचानका आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको समितिको दाबी छ । भोलिबाट सुरु हुने डोजर अभियानले विगतमा कागजमै सीमित रहेको अतिक्रमण हटाउने सरकारी निर्णय कार्यान्वयनको चरणमा पुगेको संकेत गरेको छ ।
समितिले पहिलो चरणमा ५० पोखरीलाई अतिक्रमणमुक्त गराएपछि मन्दिर परिसर र अन्य गुठी जग्गातर्फ अभियान विस्तार गर्ने तयारी गरेको छ ।
जनकपुरमा गुठीको अतिक्रमित जग्गामा भोलिदेखि डोजर चल्दै, ५० पोखरी अतिक्रमणमुक्त गरिने
- २०८३ भदौ ५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा राजगुठीअन्तर्गतका अतिक्रमित जग्गा तथा संरचना हटाउने अभियान अन्ततः कार्यान्वयनमा जाने भएको छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले भोलि शनिवारदेखि अतिक्रमित क्षेत्रमा
पूरा पढ्नुहोस्


.png)

.png)



.png)