न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको भूतनाथ मन्दिरमा चोरी गर्ने मोतिफर रहमान मियाँलाई धनुषा प्रहरीले दुई मिनेटमै पक्राउ गर्न सफल भएको बताइएको छ ।
गएराती करिब १ः३० बजेको समयमा जनकपुरको भूतनाथ (स्वर्गद्वारी) मन्दिरमा चोरी गर्नेलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । चोरी गर्नेमा भारत बिहारको मोतिहारी जिल्ला इनरर्वा फूलबार थाना लखौरा वडा नं. ७ इस्लाम टोल बस्ने अलि हसन मियाँको छोरा बर्ष २६ का मोतिफर रहमान मियाँ रहेको छ । उनीसँग एक जना अझै रहेकोमा फरार भएको प्रहरीले जनाएको छ ।
राती भूतनाथ मन्दिरमा पसेर जलढरी, भगवान ठुलो मुकुट, ४ वटा मध्यम मुकुट, नागदेवता चोरी गरी कम्बलमा बाँधेर भाग्ने तर्खरमा रहेको बेला पक्राउ परेका हुन् ।
सोही स्थानमा घरको छतमा सुतिरहेका एक युवकले धनुषा प्रहरीलाई फोन गरेपछि २ मिनेटको अन्तरालमा धनुषा प्रहरी पुगेर उनलाई रँगेहात पक्राउ गर्न सफल भएको थियो । यद्यपी, एक जना सो अघि नै भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीमा फोन जाने बित्तिकै डयुटीमा रहेका प्रहरीलाई आकस्मिक आदेश दिएको बताईएको छ । आकस्मिक (ईमरजेन्सी) आदेशपछि नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेर मियाँलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका मियाँलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो । थप अनुसन्धानको लागि अदालतबाट म्याद थप गर्ने प्रहरीले जनाएको छ । फरारलाई खोजी कार्य अनुसन्धानकै आधारमा गरिने प्रहरीले जनाएको छ ।
- २०८३ भदौ ५ शुक्रबार




.png)

.png)



.png)